काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, सुशासन र डिजिटल सेवा प्राथमिकतामा

काठमाडौं ३१ जेष्ठ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रममा सुशासन, शासकीय सुधार र डिजिटल सेवाको विस्तारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। महानगरले सूचना सम्प्रेषण तथा गतिविधि प्रचार–प्रसारका लागि वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल र डिजिटल प्लेटफर्महरूको प्रयोगलाई प्रभावकारी बनाइने जनाएको छ।

त्यसैगरी स्रोत साधनको विनियोजनलाई मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउने, तथा सबै वडा कार्यालयमा एकद्वार सेवा केन्द्र सञ्चालन गर्ने योजना समेटिएको छ। कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइम इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

स्थानीय विवाद समाधानका लागि मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिँदै न्याय निरूपणलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने नीति पनि अघि सारिएको छ। साथै सहरको सौन्दर्य र सुरक्षामा असर पार्ने विज्ञापन सामग्रीलाई पूर्ण रूपमा निषेध गर्ने व्यवस्था गरिएको छ।

सहरी व्यवस्थापनका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी तथा अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

सवारी पार्किङ व्यवस्थापनका लागि अध्ययन गरी दिगो समाधान कार्यान्वयन गर्ने योजना पनि समेटिएको छ। नयाँ सडक क्षेत्रमा देखिएको पार्किङ समस्या समाधान गर्न नेपाल वायुसेवा निगमको जग्गालाई बहु–तले पार्किङका रूपमा प्रयोग गर्न संघीय सरकारमार्फत पहल गरिने महानगरले जनाएको छ।

यसैगरी ‘सवनेशनल डिप्लोमेसी’ को अभ्यास गर्दै विश्वका सहरहरूसँग अनुभव आदान–प्रदान, प्रविधि हस्तान्तरण तथा सांस्कृतिक सहकार्यमार्फत काठमाडौँको समग्र विकासलाई अघि बढाउने नीति पनि समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्