बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्ड असार १५ भित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौं ३१ जेष्ठ । गत असोजमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्ड असार १५ गतेभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर सडक अवरुद्ध हुने समस्या दोहोरिन नदिन मुख्य निर्माणाधीन सडकबाटै सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षामा समेत डाइभर्सन बग्ने समस्या देखिएकाले वर्षाअघि नै माथिल्लो संरचनाबाट यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ। उनका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचना सम्पन्न गरी असारदेखि मुख्य सडक संरचनामार्फत सवारी सञ्चालन गरिनेछ।
निर्माण व्यवसायी प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर असार १५ भित्र सडक सञ्चालन गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र काम बाँकी छ र केही दिनमै सवारी चलाउन मिल्ने गरी निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।
गत असोज १२ र १३ गतेको बाढीले क्षति पुर्याएको भकुण्डेवेशी–नेपालथोक २९ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ। पहिलो खण्ड भकुण्डेवेशीदेखि चारसयबेँसीसम्म ११.८ किलोमिटर, दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेँसीसम्म ८.५ किलोमिटर र तेस्रो खण्ड डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भइरहेको छ।
वर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ।
पुनर्निर्माणपछि यो सडक खण्ड ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई दुई लेनको मानक सडक बन्नेछ। सडक डिभिजनका अनुसार अब सडकको चौडाइ न्यूनतम ९ मिटर रहनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटर पक्की सोल्डर रहने व्यवस्था गरिएको छ।





प्रतिक्रिया दिनुहोस्