विश्वकपमा ब्राजिलको निराशाजनक सुरुआत, मोरक्कोसँग १–१ को बराबरी
काठमाडौं ३१ जेष्ठ । विश्व फुटबलको सर्वाधिक सफल टोली ब्राजिलले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा मोरक्कोसँग बराबरी खेलेको छ।
समूह ‘सी’ अन्तर्गत आइतबार बिहान न्यू जर्सीमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
मोरक्कोका इस्माइल साइबारीले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल खेलमा फर्किएको थियो। पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन।
बराबरीसँगै पाँच पटकको विश्वकप विजेता ब्राजिलले प्रतियोगिताको सुरुआती खेलबाट एक अंक जोडेको छ भने मोरक्कोले पनि एक अंक हात पारेको छ।
यसैबीच, अर्को खेलमा कतार र स्वीट्जरल्यान्डले पनि १–१ को बराबरी खेलेका छन्।
सान फ्रान्सिस्कोमा भएको खेलमा स्वीट्जरल्यान्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो। तर इन्ज्युरी समयमा भएको आत्मघाती गोलपछि कतारले खेल बराबरीमा ल्यायो। त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।





प्रतिक्रिया दिनुहोस्