घरेलु टोली क्यानाडा र अमेरिकाको म्याच–डे
काठमाडौं, २९ जेष्ठ। आयोजकद्धय अमेरिका र क्यानाडाले शुक्रबार मध्यरातिबाट आफ्नो विश्वकप अभियान सुरु गर्नेछन् । क्यानाडाले राति १२ः४५ बजे हुने खेलमा युइएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ ।
क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना ९टोरोन्टो रंगशाला०
क्यानाडा अहिले गोल्डेन जेनेरेसनमा रमिरहेको छ । जेसी मार्सको नेतृत्वमा रहेको टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य बोकेको छ ।
बोस्निया अप्रत्याशित रुपमा इटालीलाई प्लेअफ फाइनलमा हराउँदै अमेरिकाको टिकट काटेको हो । बोस्नियालाई टोरोन्टो रंगशालामा पनि समर्थकको कमि भने हुने छैन । उत्तर अमेरिकामा बोस्नियाली डायस्पोरा ठूलो संख्यामा रहेकाले प्रतियोगितामा उनीहरुलाई समर्थकको अभाव नहुने अनुमान गरिएको छ ।
बोस्नियाले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा बोस्नियाले गोलका लागि संघर्ष गर्नुपरेको छ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा पनि बोस्नियाले नर्थ म्यासेडोनिया र पानामाविरुद्ध मात्र एक गोल गर्न सक्यो । टोली पूर्ण रुपमा अझै पनि भेट्रान सेन्टरब्याक तथा कप्तान इडेन जेकोप्रति निर्भर छ । यसबाहेक मिडफिल्डरहरु केरिम अलाजबेगोभिच, एस्मिर बज्राक्तारेभिच र बेन्जामिन ताहिरोभिच बोस्नियाका प्लेयर्स टु वाच हुन् ।
क्यानाडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन् । मिडफिल्ड जोडी भियारियालका ताजोन बुचानन र एलए एफसीका स्टेफन युस्टाकियो आयोजक टोलीका लागि प्रमुख खेलाडी रहनेछन् । स्टार खेलाडी लेफ्ट ब्याक अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानाडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ ।
क्यानाडाले वार्म अप खेलमा आयरल्यान्डसँग बराबरी खेलेको थियो । त्यसपछि उज्वेकिस्तानलाई हराएको क्यानाडा प्रतियोगिताको एलिट टोली होइन । तर, घरेलु मैदानमा क्यानाडाले ‘लेट विनर म्याजिक’ ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । बोस्निया यसैमा सजग हुन आवश्यक छ ।
अमेरिका भर्सेस पाराग्वे ९लस एन्जलस०
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न १९औं संस्करणमा पाराग्वेले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो । तर, त्यसपछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेन । १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किनाका बावजुद पाराग्वेमा आत्मविश्वासको कमि छैन । टोलीले ठूला विपक्षीलाई निराश पार्ने विश्वास लिएको छ ।
मोउरिसियो पोचेटिन्होको नेतृत्वमा अमेरिकालाई सर्वप्रथम समूह चरण पार गर्ने चुनौती छ । पोचेटिन्होले मिश्रित नतिजा आत्मसात गरिरहेका छन् । मैत्रीपूर्ण खेलमा बेल्जियम र पोर्चुगलसँग हार बेहोरेको अमेरिका विश्वकपअघि जर्मनीसँग पनि पराजित भयो । गत वर्ष अमेरिकाले पाराग्वेलाई २–१ र उरुग्वेलाई ५–१ ले हराएको थियो ।
मार्चमा पाराग्वेले ग्रीसलाई १–० ले हराएको थियो । तर, बलियो मोरक्कोसँग टोली २–१ ले हार्न पुग्यो । विश्वकपअघि पाराग्वेले वार्म अप खेलमा कमजोर निकारागुवामाथि घरेलु मैदानमा ४–० को जित हासिल गरेको थियो । तर, खेलका क्रममा टोलीका स्टार फरवार्ड हुलियो एन्सिसो घाइते हुन पुगे । खुट्टाको चोटका कारण उनले कम्तिमा विश्वकपका सुरुआती दुई खेल गुमाउने अनुमान गरिएको छ ।
एन्सिसो पाराग्वेका प्रमुख गोलकर्ता हुन् । उनको अनुपस्थितिमा अब अनुभवी कप्तान मिगुएल आल्मिरोनमाथि जिम्मेवारी बढेको छ । उनका साथै मिडफिल्डर डामियन बोबाडिला र स्ट्राइकर एन्टोनियो सानाब्रियामाथि पनि अझ बढी जिम्मेवारी रहनेछ ।
पाराग्वेले रक्षापङ्क्तिमा ओमार अल्डेरेटेलाई भरोसा गरेको छ । तर, विपक्षी टोली अमेरिकासँग उनलाई चुनौती दिन सक्ने थुप्रै आक्रमणकारी विकल्पहरु छन् । क्रिस्टियन पुलिसिक एसी मिलानमा सिजनको अन्त्यतिर कठिन समय बिताए पनि अहिले पूर्ण रुपमा फिट भएर मैदान उत्रिने आशामा छन् । फोलारिन बालोगुनले आफूलाई प्रभावशाली स्ट्राइकरका रुपमा स्थापित गर्न कोशिस गरिरहेका छन् भने मालिक टिलम्यानले अमेरिकी आक्रमणलाई थप धार दिनेछन् ।





प्रतिक्रिया दिनुहोस्