माग पूरा नभए कडा आन्दोलन गर्ने विद्यालय कर्मचारीहरूको घोषणा
जेष्ठ, २९ काठमाडौं । बजेट वक्तव्यमा आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र अखिलसहितको संयुक्त मोर्चाले आन्दोलन घोषणा गरेको हो।
आन्दोलनरत कर्मचारीहरूले चरणबद्ध आन्दोलनअन्तर्गत सरकार, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थमन्त्री तथा मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन्। साथै जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयमार्फत समेत ध्यानाकर्षण गराइएको छ।
त्यस्तै, जिल्ला कार्यसमितिको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि आफ्ना मागबारे जानकारी गराउँदै संघीय संसद्मा आवाज उठाउन आग्रह गरिएको छ।
घोषित कार्यतालिका अनुसार असार २८ गतेदेखि असार ४ गतेसम्म कर्मचारीहरूले कालो पट्टी बाँधेर काम गर्नेछन्।
माग सम्बोधन नभए असार ५ गतेदेखि सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय गरिएको छ।
त्यसपछि असार ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी रहेको संयुक्त मोर्चाले जनाएको छ।
कर्मचारीहरूले आफ्ना मागप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै तत्काल समाधान नभए आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन्।





प्रतिक्रिया दिनुहोस्