मधेश ट्राभल मार्ट सुरु, पर्यटन प्रवर्द्धनमा जोड

जेष्ठ, २८, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि ‘मधेश ट्राभल मार्ट’ सुरु भएको छ। कार्यक्रमबारे नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले सिमरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

चार दिनसम्म सञ्चालन हुने मार्ट वीरगञ्ज, बारा र जनकपुरमा विभिन्न कार्यक्रमसहित आयोजना गरिनेछ। आयोजकका अनुसार मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, स्थानीय संस्कृति तथा परिकारको प्रचार–प्रसार कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले मधेशका आठवटै जिल्लाका पर्यटकीय तथा सांस्कृतिक सम्पदालाई एउटै मञ्चमार्फत जोड्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताए।

उनका अनुसार शुक्रबार वीरगञ्जमा औपचारिक उद्घाटन हुने कार्यक्रमपछि विभिन्न गतिविधि जनकपुरसम्म सञ्चालन गरिनेछ।

वीरगञ्ज महानगरपालिका, बर्दिबास नगरपालिका तथा अन्य स्थानीय तहहरूको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको सचिवालय जितपुरसिमरा उपमहानगरपालिकामा रहेको छ।

मार्टमा नेपाल र भारतका विभिन्न सहरबाट २०० भन्दा बढी सहभागी हुनेछन्। कार्यक्रममा पर्यटन व्यवसायी, टुर अपरेटर, पर्यटक तथा कन्टेन्ट क्रियटरहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूलाई भारतीय पर्यटन बजारमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्