विश्वकप २०२६ आजदेखि सुरु, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
जेष्ठ, २८, काठमाडौं । क्यानडा, मेक्सिको र अमेरिकालाई आयोजकका रूपमा चयन गरिएको आठ वर्षपछि फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।
लामो प्रतीक्षापछि सुरु भएको यस ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आज राति पौने एक बजे मेक्सिकोमा हुनेछ, जहाँ घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
संयोगवश यी दुई टोली २०१० को विश्वकप उद्घाटन खेलमा पनि आमनेसामने भएका थिए। यसपटक आयोजकको भूमिकामा रहेको मेक्सिकोले फेरि दक्षिण अफ्रिकासँगै प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो दिनकै अर्को खेल ग्वाडालाजारामा हुनेछ, जहाँ एसियाली शक्ति दक्षिण कोरिया र युरोपेली टोली चेक गणतन्त्र भिड्नेछन्। चेक टोली प्लेअफ जितेर उच्च मनोबलका साथ प्रतियोगितामा उत्रिएको छ।
१०४ खेलसम्म चल्ने यस विश्वकपको सुरुवात मेक्सिको–दक्षिण अफ्रिका खेलबाट हुँदैछ। दक्षिण अफ्रिकाका मुख्य खेलाडी अब्रे मोडिबा चोटमुक्त भई टोलीमा फर्किएका छन्।
सम्भावित सुरुवाती एघारमा मेक्सिको र दक्षिण अफ्रिकाले बलियो टोली उतार्ने अनुमान गरिएको छ।
प्रशिक्षक जाभियर अगुइरेले आफ्नै देशमा विश्वकप खेल्नु करियरकै सबैभन्दा ठूलो खुसी भएको बताएका छन्। त्यस्तै दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले ९० मिनेटसम्म पूर्ण संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रोचक तथ्य के छ भने, २०१० को विश्वकपमा यी दुई टोलीबीचको खेल बराबरीमा सकिएको थियो, जहाँ सिफिवे साबालालाले उत्कृष्ट गोल गरेका थिए भने राफायल मार्खेजले बराबरी गोल गरेका थिए। मार्खेज अहिले मेक्सिको टोलीका सहायक प्रशिक्षकका रूपमा पुनः मैदानमा देखिनेछन्।





प्रतिक्रिया दिनुहोस्