विश्व फुटबलको ‘महाकुम्भ’ सुरु हुँदै, ४८ टोली सहभागी नयाँ विश्वकप युग

जेष्ठ, २८, काठमाडौं । फुटबल प्रेमीहरूको प्रतीक्षाको घडी सकिएको छ। आज मध्यराति १२:४५ बजे मेक्सिको राष्ट्रिय फुटबल टोली र दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली बीचको खेलसँगै विश्व फुटबलको नयाँ महाकुम्भ सुरु हुँदैछ।

४८ टोली, १०४ खेल र ३९ दिन लामो प्रतिस्पर्धासहितको यो संस्करणलाई विश्वकपको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ। यसपटक पहिलो पटक ४८ राष्ट्रहरूले सहभागिता जनाउँदै प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो स्वरूपमा विस्तार भएको हो।

प्रतियोगिता मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको छ। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलहरू आयोजना हुँदैछन्, जसले यसलाई त्रि-आयोजक ढाँचाको विश्वकप बनाएको छ।

फाइनल खेल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशाला मा हुनेछ। विजेता टोलीले कुल ८ खेल खेलेर उपाधि जित्नेछ।

यसअघि सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गर्दा २४ टोली सहभागी थिए भने ५२ खेल खेलाइएको थियो। यसपालि टोली र खेल संख्या दुवै उल्लेख्य रूपमा बढाइएको छ।

नेपाल र आयोजक देशबीच समय अन्तरका कारण खेलहरू नेपाली समय अनुसार राति अबेरदेखि बिहानसम्म सञ्चालन हुनेछन्—राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ बजेसम्म।

नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एप मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसका लागि निश्चित शुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्