डीएभी लगातार दोस्रोपटक जयकुमारनाथ शाह स्मृति यु–१६ क्रिकेटको च्याम्पियन
जेष्ठ, २७ काठमाडौं । सुशील केडिया विश्व भारती स्कुल (डीएभी) ले लगातार दोस्रोपटक एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मूलपानीको माथिल्लो क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कुललाई डिएलएस (DLS) पद्धतिअनुसार ७ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
उपाधिसँगै डीएभीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस स्कुलले ७५ हजार रुपैयाँ प्राप्त गर्यो। डीएभी यसअघि दोस्रो संस्करणको विजेता पनि बनेको थियो।
पुलिस स्कुलले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। बुधबार खेललाई १२ ओभरमा सीमित गर्दै डिएलएस विधिअनुसार डीएभीलाई ७० रनको संशोधित लक्ष्य दिइएको थियो। डीएभीले १०.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै उपाधि जित्न सफल भयो।
डीएभीको जितमा आरुष झाले अविजित २६ रन बनाए भने बिराज जैसवालले २२ रनको योगदान दिए। कमल शाही ३ रनमा अविजित रहे। उत्कृष्ट प्रदर्शन गरेका कमल शाही ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो। मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाएका थिए।
डीएभीका कमल शाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए। कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट लिए।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डीएभीका प्रसिद्ध जैशी घोषित भए। उनले प्रतियोगिताभर २७३ रन बनाउनुका साथै ७ विकेट लिएर टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले। उत्कृष्ट बलरको उपाधि डीएभीका कुञ्जन आचार्यले १३ विकेटसहित जिते भने सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य उत्कृष्ट ब्याटर घोषित भए।
जेम्स स्कुलका स्वराज चौलागाईं प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए। उनले प्रतियोगिताभर १०३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।
समापन समारोहमा मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालिकी निर्देशक मीना लिम्बु त्रिपाठी, नेपाल क्रिकेट संघ (क्यान) का सचिव Paras Khadka लगायतको उपस्थिति रहेको थियो। काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले विद्यालयस्तरको क्रिकेट विकासका लागि यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।





प्रतिक्रिया दिनुहोस्