सरकारी वेबसाइटहरूमा पहुँचमैत्री उपकरण, सबै नागरिकलाई सहज प्रयोगको व्यवस्था
जेष्ठ, २७ काठमाडौं । सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन ‘एक्सेसिबिलिटी टुल’ समावेश गरिएको छ।
सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार दृष्टिविहीन, न्यून दृष्टि भएका, रंग पहिचानमा समस्या भएका, सिकाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्तालाई लक्षित गर्दै सरकारी वेबसाइटहरूमा पहुँचमैत्री सुविधा थप गरिएको हो।
सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टलहरूलाई अपांगता भएका व्यक्ति तथा कम प्राविधिक ज्ञान भएका नागरिकले पनि सहज रूपमा प्रयोग गर्न सक्ने बनाउने उल्लेख गरिएको थियो। सोही कार्यान्वयनअन्तर्गत यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ।
हाल सरकारी वेबसाइट खोल्नेबित्तिकै पृष्ठको तल मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ देखिन्छ। यसमार्फत प्रयोगकर्ताले आवश्यकताअनुसार वेबसाइटको स्वरूप र सामग्री समायोजन गर्न सक्नेछन्।
अक्षरको आकार सानो–ठूलो बनाउने, पृष्ठभूमि र अक्षरबीचको कन्ट्रास्ट बढाउने, विभिन्न रंग फिल्टर प्रयोग गर्ने, फन्ट परिवर्तन गर्ने तथा अक्षर र लाइन स्पेसिङ समायोजन गर्ने सुविधा उपलब्ध छन्।
त्यसैगरी माउस कर्सर सानो–ठूलो बनाउने, तस्बिर लुकाएर केवल पाठ मात्र देखाउने, तथा चलायमान दृश्य र एनिमेसन रोक्ने विकल्प पनि समावेश गरिएको छ।
सूचना प्रविधि विभागका अनुसार यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन (WCAG)’ अनुसार विकास गरिएको हो। किबोर्डको प्रयोगबाट मात्र पनि वेबसाइट सहज रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
‘स्किप नेभिगेसन’ लिंकमार्फत प्रयोगकर्ताले सिधै मुख्य सामग्रीमा पुग्न सक्ने सुविधा राखिएको छ भने तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ राखिएकाले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहज हुने बताइएको छ।
यसैगरी, फाराम भर्दा देखिने त्रुटि सन्देश र सुझावहरू स्क्रिन रिडरमार्फत सजिलै सुन्न र बुझ्न सकिने गरी प्रणाली तयार गरिएको विभागले जनाएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट लेबल र संकेत राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहज हुने उल्लेख छ।
किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा छु भन्ने स्पष्ट रूपमा थाहा पाउन सक्ने व्यवस्था पनि गरिएको छ।
यसअघि गत वैशाखमा विभागले अपांगमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अद्यावधिक गर्ने सम्बन्धी तालिम विभिन्न मन्त्रालय तथा निकायका कर्मचारीलाई दिएको थियो।





प्रतिक्रिया दिनुहोस्