दरबार हत्याकाण्डको सत्यतथ्य ल्याउन आधुनिक फरेन्सिक अनुसन्धानको माग
काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई राष्ट्रवादी तथा राजावादी समूहले साहसिक कदम भन्दै स्वागत गरेका छन्।
दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भइसक्दा पनि घटनाको सत्यतथ्य अझै रहस्यकै गर्भमा रहेको भन्दै उनीहरूले निष्पक्ष र उच्चस्तरीय आयोगमार्फत अनुसन्धान अघि बढाउन माग गरेका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रवादी तथा राजावादी नेपालीहरूको तर्फबाट राधिका जोशी (अनुपमा) ले गृहमन्त्रीको घोषणाप्रति पूर्ण ऐक्यबद्धता प्रकट गरेकि हुन् । विज्ञप्तिमा देशको सार्वभौमिकता, इतिहास र नागरिकको भावनालाई कदर गर्दै सरकारले देखाएको यो तत्परताले न्याय र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सकारात्मक आशा जगाएको उल्लेख गरिएको छ।
”विगतमा गरिएका सतही छानबिन र प्रतिवेदनहरूले आम नेपाली जनताको आशंका र जिज्ञासालाई मेट्न सकेका छैनन्। ढिलै भए पनि सरकारले देखाएको यो तत्परता स्वागतयोग्य छ,” विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमार्फत सरकार र गृहमन्त्रीसँग विभिन्न ३ बुँदे मागसमेत राखिएको छ: निष्पक्ष र उच्चस्तरीय आयोग: राजनीतिक प्रतिशोध वा प्रचारबाजीका लागि मात्र नभई, देशका निष्पक्ष, व्यावसायिक र उच्च तहका अनुसन्धानकर्ताहरू सम्मिलित शक्तिशाली आयोग गठन गरिनुपर्ने।
अन्तर्राष्ट्रिय मापदण्डको अनुसन्धान: आधुनिक फरेन्सिक विज्ञान र अन्तर्राष्ट्रिय अनुसन्धान पद्धतिको समेत प्रयोग गरी घटनाको भित्री तहसम्म पुग्नुपर्ने।
तथ्यको पूर्ण सार्वजनिकीकरण: छानबिनको निष्कर्षलाई बिनाकुनै दबाब वा संकोच, जस्ताको तस्तै आम जनतासामु ल्याएर इतिहासको यो गम्भीर रहस्यको स्थायी अन्त्य गरिनुपर्ने।
इतिहासलाई न्याय दिन र देशको अस्मिता जोगाउन सरकारले चाल्ने हरेक सकारात्मक र निष्पक्ष कदममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत विज्ञप्तिमा जनाइएको छ। २०५८ जेठ १९ गते भएको तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी हत्याकाण्डलाई नेपाली इतिहासकै सबैभन्दा कालो र मर्माहत अध्यायका रूपमा लिइन्छ।





प्रतिक्रिया दिनुहोस्