सोमाली रेफ्री ओमार अर्टान विश्वकपबाट बाहिरिए, अमेरिकाले प्रवेश अनुमति नदिएको आरोप

जेष्ठ , २६ काठमाडौं । विश्वकप फुटबल इतिहासमा पहिलो सोमाली रेफ्री बन्ने तयारीमा रहेका ओमार अर्टान अमेरिकाले प्रवेश अनुमति नदिएपछि प्रतियोगिताबाट बाहिरिएका छन्।

सन् २०२५ का अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित अर्टानलाई अमेरिका पुगेपछि मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको बताइएको छ। उनी हाल टर्कीमा रहेका छन्।

अमेरिकी अध्यागमन विभागले रोक्नुको स्पष्ट कारण नदिए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत केही देशहरूमाथि लगाइएको भ्रमण प्रतिबन्धका कारण यस्तो भएको अनुमान गरिएको छ।

फुटबलको विश्व निकाय FIFA ले अर्टान अब विश्वकपमा सहभागी हुन नसक्ने पुष्टि गरेको छ। फिफाले कुनै पनि देशले आफ्नो भिसा नीति लागू गर्ने अधिकार राख्ने बताएको छ।

यसैबीच अमेरिकी अधिकारीहरूले सुरक्षा कारण देखाउँदै उनलाई रोक्ने निर्णयको समर्थन गरेका छन्।

सोमालियाको खेलकुद मन्त्रालय र फुटबल संघले घटनाप्रति आपत्ति जनाउँदै अर्टानसँग वैध कागजात र कूटनीतिक राहदानी रहेको दाबी गरेका छन्। उनीहरूले फिफासँग औपचारिक स्पष्टीकरण मागेका छन्।

अर्टानले भने आफू सकारात्मक रहेको बताउँदै भविष्यका अवसरमा ध्यान दिने प्रतिक्रिया दिएका छन्।

उनी सन् २०१८ देखि फिफा रेफ्रीका रूपमा कार्यरत रहँदै अफ्रिका कप अफ नेसन्स जस्ता प्रतियोगितामा समेत जिम्मेवारी निभाइसकेका थिए।

प्रतिक्रिया दिनुहोस्