ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत किस्ताबन्दी सुविधा उपलब्ध
जेष्ठ, २५ काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
डिजिटल भुक्तानी प्रवर्द्धन तथा आधुनिक वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच उक्त सहकार्य गरिएको हो।
सम्झौताअनुसार बैंकका ऋणपत्र (क्रेडिट) कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा तत्काल किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन।
ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी किस्तामा भुक्तानी गर्न सक्नेछन्। उक्त योजनाअन्तर्गत कुनै ब्याज तथा प्रक्रिया शुल्क लाग्ने छैन।
यो सुविधा विशेषगरी विद्युतीय उपकरण तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकका लागि उपयोगी हुने विश्वास गरिएको छ। यसले तत्काल आर्थिक भार कम गर्दै योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ग्लोबल बीबीएसएम क्लब ऋणपत्र कार्ड जारी गरिने भएको छ। ग्राहकको आर्थिक वर्ष तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको ऋण सीमा भएको कार्ड उपलब्ध गराइनेछ। प्रारम्भिक चरणमा उक्त कार्ड भाटभटेनी तथा त्यसको सञ्जालभित्र मात्र प्रयोग गर्न सकिने जनाइएको छ।
कार्डमार्फत ग्राहकले सहज भुक्तानी सुविधा, विशेष प्रस्ताव, छुट तथा भविष्यमा सञ्चालन गरिने विभिन्न ग्राहक केन्द्रित योजनाको लाभ लिन सक्नेछन्।
दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा आकर्षक छुट, नगद फिर्ता, पुरस्कार तथा अन्य विशेष योजनाहरू सञ्चालन गर्ने तयारी गरेका छन्। यस योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेको छ।
ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ स्वचालित नगद वितरण केन्द्र, १४७ शाखारहित बैंकिङ सेवा तथा अन्य सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट विप्रेषण सेवा उपलब्ध गराउँदै आएको बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित सम्मानसमेत प्राप्त गरिसकेको छ।





प्रतिक्रिया दिनुहोस्