मूलपानीमा यु–१६ इन्टरस्कुल क्रिकेटको सेमिफाइनल समीकरण पूरा, फाइनल मंगलबार
जेष्ठ, २४ काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार मूलपानी क्रिकेट मैदान मा सम्पन्न दुई क्वाटरफाइनल खेलपछि अन्तिम चार टोलीको टुंगो लागेको हो।
काठमाडौं जिल्ला क्रिकेट संघ को आयोजनामा जारी प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ।
सेमिफाइनल तालिका
सोमबार हुने पहिलो सेमिफाइनलमा डिएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल भिड्नेछन्। दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ।
जेम्स स्कुलको सहज जित
आइतबारको तेस्रो क्वाटरफाइनलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
९६ रनको लक्ष्य जेम्सले ९.५ ओभरमै बिना विकेट क्षति पूरा गर्यो। स्वराज चौलागाईं ३८ र सुदिश पौडेल ४३ रनमा अविजित रहे।
यसअघि मोक्षदाले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। ऋषुशाहा सुबेदीले अविजित ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। जेम्सका प्रचेत लाखोटियाले ३ विकेट लिए भने स्वराज चौलागाईंले पनि ३ विकेट हात पारे।
नेपाल पुलिस स्कुलको ५० रनको जित
अर्को क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई ५० रनले हराउँदै अन्तिम चारमा स्थान बनायो।
१४५ रनको लक्ष्य पछ्याएको रत्न राज्य १७.१ ओभरमा ९४ रनमै समेटियो। उदयकुमार मण्डलले ३१ रन बनाए। पुलिसका सुजित यादवले ४ विकेट लिए भने सागर सिंहले ३ विकेट हात पारे।
त्यसअघि पुलिसले २० ओभरमा १४४ रन बनाएको थियो।
शनिबारका नतिजा
शनिबार सम्पन्न खेलमा डिएभी सुशील केडिया विश्व भारती स्कुलले केएमसी स्कुललाई ९४ रनले तथा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए।
फाइनल मंगलबार
प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। विजेताले रु १ लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन्।





प्रतिक्रिया दिनुहोस्