ओमानलाई हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा

जेष्ठ २४ , काठमाडौं । नेपाल एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।

ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भूर्तेलले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २० रन बनाए। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। अर्का ओपनर आशिफ शेख भने १ रनमै आउट भए।

त्यसपछि कप्तान रोहित पौडेल र लोकेश बमले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। रोहितले २० बलमा २ चौकासहित २१ रन बनाए भने लोकेश बम २६ बलमा ४४ रन बनाएर अविजित रहे। उनले ७ चौका र १ छक्का प्रहार गरे।

ओमानका लागि समीर ओठम्यानले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा ९४ रनमा समेटेको थियो। नेपाली बलरहरूले अनुशासित प्रदर्शन गर्दै ओमानलाई ठूलो स्कोर बनाउन दिएनन्।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ र अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्