राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा बागमतीको दबदबा, ११ स्वर्णसहित शीर्ष प्रदर्शन
जेष्ठ, २२ काठमाडौं। १६ औँ राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। बागमतीले ७ रजत र ५ कांस्य पदक पनि आफ्नो नाममा पार्यो।
एथलेटिक्सका २६ स्पर्धामध्ये सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्दा लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य हात पार्यो। गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते। कोशी प्रदेशले २ रजत र २ कांस्यमा चित्त बुझाउँदा मधेश प्रदेश पदकविहीन रह्यो।
दशरथ रंगशालामा भएको अन्तिम दिनको प्रतिस्पर्धामा छात्र २०० मिटर दौडमा भगवानदास लोहार र छात्रातर्फ गरिमा चौधरीले स्वर्ण जिते। छात्र ३ हजार मिटरमा अनिल शाही तथा छात्रातर्फ अन्जुली मल्ल पहिलो भए।
छात्र ट्रिपलजम्पमा विक्रमनाथ र छात्रातर्फ अनिशा थारुले स्वर्ण जिते। ४×१०० मिटर रिलेतर्फ छात्रमा लुम्बिनी र छात्रामा बागमती प्रदेश विजेता बने।
प्रतियोगितामा तीन जुनियर राष्ट्रिय कीर्तिमानसमेत बने। छात्र हाइजम्पमा अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै नयाँ कीर्तिमान कायम गरे। छात्रा ४०० मिटर दौडमा भगवती खड्काले हिट चरणमै नयाँ कीर्तिमान बनाइन्। उनले प्रतियोगितामा कुल चार स्वर्ण पदक जित्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरिन्।
त्यस्तै छात्र ४×४०० मिटर रिलेतर्फ गण्डकी प्रदेशका अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित टोलीले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचे।
उता नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा पनि बागमती प्रदेशले ५ स्वर्ण जित्दै वर्चस्व कायम गर्यो। १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेशले समान २–२ स्वर्ण जिते भने कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण हात पारे। कर्णाली प्रदेश भने स्वर्णविहीन रह्यो।




प्रतिक्रिया दिनुहोस्