भेप सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

जेष्ठ, २२ काठमाडौं। भेप (इलेक्ट्रिक सिगरेट) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा विशेष अदालतले नायब सुब्बा रेवन्त खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासले खड्काविरुद्ध थुनछेक बहसपछि उक्त आदेश दिएको हो। अदालतमा उपस्थित भएर बयान दिएका खड्काको बयान सकिएलगत्तै थुनछेक बहस सम्पन्न भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरिएको ८ हजार ४८० ग्राम सुन प्रकरणमा खड्कासहितका प्रतिवादीविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

अनुसन्धानका अनुसार चिनियाँ नागरिक ली हाङ सङले दुई वटा सुटकेसभित्र राखिएका ७३० थान भेपमा सुन लुकाएर नेपाल ल्याएका थिए। एक्सरे परीक्षणका क्रममा सामान शंकास्पद देखिएपछि पुनः जाँच गर्नुपर्ने संकेत गरिएको भए पनि आवश्यक कारबाही प्रभावकारी रूपमा अघि नबढेको आरोप छ।

अख्तियारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, भन्सार विभागको छानबिन प्रतिवेदन तथा यसअघि भएका अदालती निर्णयलाई आधार बनाएर मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्