टाइम आउट विवादमा क्यानद्वारा माफी, भुटानविरुद्ध नेपालको ५१ रनको जित
जेष्ठ २१ काठमाडौं । एसिसी महिला प्रिमियर कपअन्तर्गत भुटानविरुद्धको खेलमा नेपाली महिला क्रिकेट टोलीले ‘टाइम आउट’ अपिलमार्फत विकेट लिएको घटनाप्रति नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ।
क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै खेल भावना खेल नियमभन्दा माथि हुने उल्लेख गरेका छन्। विज्ञप्तिमा उक्त घटनामा अपेक्षित खेल भावना र मूल्य प्रदर्शन हुन नसकेको स्वीकार गर्दै भुटान टोली तथा क्रिकेट समर्थकमाझ क्षमायाचना गरिएको छ।
मलेसियामा सम्पन्न खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने रिट्सी छोडेन निर्धारित ९० सेकेन्डभित्र क्रिजमा उपस्थित हुन नसकेपछि नेपाली टोलीले अम्पायरसमक्ष ‘टाइम आउट’ को अपिल गरेको थियो।
अम्पायरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० नियमअनुसार उनलाई आउट घोषणा गरेका थिए। आईसीसीको नियमअनुसार विकेट पतन भएपछि नयाँ ब्याटर ९० सेकेन्डभित्र क्रिजमा तयार हुनुपर्छ। निर्धारित समयभित्र उपस्थित हुन नसकेमा विपक्षी टोलीको अपिलमा ब्याटरलाई आउट दिन सकिने व्यवस्था छ।
यो घटना नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो ‘टाइम आउट’ विकेट हो भने पुरुष तथा महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो पटक यस्तो घटना भएको हो।
घटनापछि सामाजिक सञ्जालमा नेपालले खेल भावनाविपरीत नियमको प्रयोग गरेको भन्दै आलोचना भएको थियो। बढ्दो आलोचनापछि क्यानले औपचारिक रूपमा माफी मागेको हो।
विवादका बीच पनि नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भुटानलाई ६२ रनमै समेट्यो र ५१ रनको प्रभावशाली जित दर्ता गर्यो।
नेपालको जितमा रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने रिया शर्माले २ विकेट हात पारिन्। ब्याटिङतर्फ सीता राना मगरले ३७ रनको महत्वपूर्ण योगदान दिएकी थिइन्।




प्रतिक्रिया दिनुहोस्