कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दोस्रो टी–२० शतक

जेष्ठ, २१ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्।

एसियन गेम्स छनोटअन्तर्गत मलेसियाविरुद्ध बिहीबारको खेलमा भुर्तेलले ५४ बलमा १२६ रन बनाए। उनले १४ चौका र ८ छक्का प्रहार गर्दै उत्कृष्ट इनिङ खेले।

यसअघि उनले छनोटमै चीनविरुद्ध १२९ रन बनाएका थिए। लगातार दुई शतकसँगै भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो कुल रन संख्या २,२४० पुर्‍याउँदै नेपालको सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो शतक संख्या तीन पुर्‍याएका छन् र लगातार दुई शतक प्रहार गर्ने नेपालका पहिलो तथा विश्वकै दशौं खेलाडी बनेका छन्।

भुर्तेलको आक्रामक ब्याटिङसँगै नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २७५ रनको विशाल योगफल बनाएको थियो।

टीमका लागि आसिफ शेखले ६८ रन, दीपेन्द्र सिंह ऐरीले ३१ रन र सन्दीप जोराले १५ रन योगदान दिएका थिए।

यस खेलसँगै चीनलाई हराएका दुवै टोली सेमिफाइनल पुगेर एसियन गेम्सका लागि छनोट भइसकेका छन् भने आजको खेलले समूह विजेता निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्