कुकुरले फेला पारेको विश्वकप ट्रफी : जुल्स रिमेटको रोचक कथा
जेष्ठ, २१ काठमाडौं । फुटबल विश्वकपको इतिहासमा सन् १९६६ मा भएको एक घटना आज पनि सबैभन्दा रोचक प्रसंगमध्ये एक मानिन्छ। विश्वकप सुरु हुन चार महिना बाँकी रहँदा इङ्ग्ल्यान्डमा प्रदर्शनका लागि राखिएको जुल्स रिमेट ट्रफी चोरी भयो। तर एक सातापछि उक्त ट्रफी मानिसले होइन, पिकल्स नामक कुकुरले फेला पारेर विश्वभर चर्चा बटुल्यो।
फिफाका तेस्रो अध्यक्ष जुल्स रिमेटको पहलमा विश्वकप ट्रफीको अवधारणा सन् १९२८ मा अघि सारिएको थियो। फ्रान्सेली मूर्तिकार एबल लफ्लरले डिजाइन गरेको ट्रफीमा विजयकी ग्रीक देवी निकीको आकृति समावेश गरिएको थियो। ३५ सेन्टिमिटर अग्लो र ३.८ किलोग्राम तौलको उक्त ट्रफी चाँदीमा सुनको लेपन गरिएको थियो।
सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपदेखि प्रयोगमा आएको ट्रफी दोस्रो विश्वयुद्धका बेला विशेष सुरक्षा व्यवस्थासहित राखिएको थियो। युद्धका क्रममा फिफाका उपाध्यक्ष ओटोरिनो बरासीले ट्रफीलाई जुत्ताको खोलभित्र लुकाएर सुरक्षित राखेका थिए।
सन् १९४६ मा फिफाले आफ्ना पूर्वअध्यक्षको सम्मानमा ट्रफीको नाम ‘जुल्स रिमेट ट्रफी’ राख्यो। त्यसपछि १९५४, १९५८ र १९६२ का विश्वकप पनि यही ट्रफीका लागि खेलिएका थिए।
सन् १९६६ को विश्वकप इङ्ग्ल्यान्डमा आयोजना हुने तय भएपछि ट्रफीलाई लन्डनको वेस्टमिन्स्टरस्थित एक प्रदर्शनी हलमा राखिएको थियो। तर मार्च महिनामा ट्रफी रहस्यमय ढंगले चोरी भयो। करिब ३० हजार पाउण्ड मूल्यको ट्रफी हराएपछि इङ्ग्ल्यान्डका फुटबल अधिकारी र सुरक्षा निकायमाथि ठूलो दबाब सिर्जना भएको थियो।
चोरीपछि ‘ज्याक्सन’ नाम प्रयोग गर्दै एक व्यक्तिले १५ हजार पाउण्ड फिरौती मागेका थिए। प्रहरीले अनुसन्धानका क्रममा केही व्यक्तिलाई पक्राउ गरे पनि ट्रफीको अवस्था भने अज्ञात नै रह्यो।
घटनाको एक सातापछि लन्डनको दक्षिणपूर्वी क्षेत्र बेलहिलमा डेविड कोर्बेट आफ्नो पालतु कुकुर पिकल्ससँग हिँडिरहेका थिए। त्यही क्रममा पिकल्सले सडकछेउमा राखिएको एउटा शंकास्पद पोको सुँघ्न थाल्यो। कोर्बेटले पोको खोलेर हेर्दा त्यो हराएको जुल्स रिमेट ट्रफी नै रहेको पत्ता लाग्यो।
ट्रफी फेला परेपछि कोर्बेटले प्रहरीलाई जानकारी दिए। प्रारम्भमा उनीमाथि नै शंका गरिए पनि अनुसन्धानपछि उनी निर्दोष साबित भए। ट्रफी फेला पार्न महत्वपूर्ण भूमिका खेलेको पिकल्स भने राष्ट्रिय चर्चाको विषय बन्यो र विभिन्न टेलिभिजन कार्यक्रममा समेत देखापर्यो।
त्यसै वर्ष वेम्बली रंगशालामा भएको फाइनलमा इङ्ग्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै पहिलो पटक विश्वकप जित्यो र हराएर पुनः फेला परेको ट्रफी आफ्नै भूमिमा उचाल्यो।
सन् १९७० को विश्वकपमा ब्राजिलले तेस्रो पटक उपाधि जितेपछि जुल्स रिमेट ट्रफी स्थायी रूपमा ब्राजिललाई प्रदान गरियो। त्यसपछि सन् १९७४ देखि हाल प्रयोग भइरहेको नयाँ फिफा विश्वकप ट्रफी प्रयोगमा ल्याइएको हो।




प्रतिक्रिया दिनुहोस्