ट्राफिक प्रहरीले खोजी गरेर फेला पारेका ४० चोरीका मोटरसाइकल र स्कुटर धनीलाई बुझायो

जेष्ठ २०, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

बुधबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन्।

ट्राफिक प्रहरीका अनुसार विभिन्न मिति र स्थानबाट चोरी भएका सवारीसाधन कार्यालयमा प्राप्त निवेदन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजतलास गरी फेला पारिएको हो।

एसएसपी अधिकारीले केही सवारीसाधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेको जानकारी दिए। ट्राफिक प्रहरीले सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँ बसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायतका क्षेत्रबाट ती सवारीसाधन बरामद गरेको जनाएको छ।

बुधबार हस्तान्तरण गरिएका ४० वटासहित चालु आर्थिक वर्षको साउन महिनायता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका कुल ५०२ वटा सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ।

त्यस्तै, चोरीमा प्रयोग भएका ३० वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरी घटनामा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारीसाधन चोरी भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीलाई जानकारी गराउन तथा आवश्यक विवरण उपलब्ध गराउन सवारीधनीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्