डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भएको सहमतिका बुँदाहरु यस्ता छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
जसमा उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति दिलाएर कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त पार्ने विषय रहेका छन्। उक्त विषयमा उत्तर कोरियाका नेता किम जोङ उनले प्रतिवद्धता जनाएका छन् ।

यो भेट र सहमतिपछि उत्तर कोरिया र अमेरिकाको सम्बन्ध नयाँ र सुमधुर किसिमले अगाडि बढ्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ट्रम्प यो भेटबाट उत्साहित भएको बताइएको छ ।

यसअघि उनी किमसँगको भेटप्रति आशंका व्यक्त गर्दै आएका थिए । तर, वार्तापछि भने ट्रम्पले कसैले पनि नसोचेको रुपमा सफलता हात परेको बताएका छन् । उक्त सहमति पत्रमा पनि उत्तर कोरिया र अमेरिकी सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने वाचा गरिएको छ ।

बीबीसीका अनुसार डोनाल्ड ट्रम्प र किम जोङ उनले हस्ताक्षर गरेको घोषणापत्रमा मूख्य रुपमा चार बुँदा रहेका छन् । जुन निम्नानुसार छन् :

१- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी-उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

३ – सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाममुनजोन घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४ – संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँदछन्।

सहमतिपत्र :

प्रतिक्रिया दिनुहोस्