प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाल महिला संघको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

जेष्ठ २०, काठमाडौं । नेपाल महिला संघले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको ‘नेपालले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ।

संघकी अध्यक्ष मीनाकुमारी खरेलले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको निन्दा गर्दै यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार तथा लज्जास्पद कदमको संज्ञा दिएकी छन्।

जारी विज्ञप्तिमा राष्ट्रको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिले कुनै ठोस ऐतिहासिक आधार, तथ्य वा प्रमाणबिना संसद् जस्तो गरिमामय मञ्चबाट यस्तो अभिव्यक्ति दिनु अत्यन्त आपत्तिजनक भएको उल्लेख गरिएको छ।

अध्यक्ष खरेलले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानप्रतिको संवेदनशीलता तथा कूटनीतिक विषयमा अपेक्षित परिपक्वताको अभाव झल्काएको बताएकी छन्। साथै, यस्ता अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता र सीमा सम्बन्धी स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।

विज्ञप्तिमा नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा नेपाली जनताको भावनाविपरीत व्यक्त गरिएका यस्ता धारणा कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। सीमा जस्तो संवेदनशील विषयमा राष्ट्रको नेतृत्वबाट व्यक्त हुने प्रत्येक शब्दले राज्यको आधिकारिक दृष्टिकोण प्रतिनिधित्व गर्ने भएकाले यसलाई सामान्य रूपमा लिन नसकिने संघको धारणा छ।

नेपाल महिला संघले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति सरकारको आधिकारिक धारणा, कुनै राजनीतिक दलको दृष्टिकोण वा व्यक्तिगत विचारमध्ये कुन हो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको जनाएको छ।

संघले सरकारसँग यस विषयमा संसद् तथा नेपाली जनतासमक्ष यथाशीघ्र स्पष्ट जवाफ दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्