विश्वकप फुटबलका लागि १,२४८ खेलाडीको अन्तिम सूची सार्वजनिक, मेसी–रोनाल्डो छैटौँ विश्वकप खेल्दै
जेष्ठ २०, काठमाडौं। विश्वकप फुटबल सुरु हुन अब मात्र आठ दिन बाँकी रहँदा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रतियोगितामा सहभागी हुने ४८ राष्ट्रका कुल १,२४८ खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हेरिएको छ। ४८ टोली सहभागी हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्।
फिफाले सार्वजनिक गरेको विवरणअनुसार विश्वकपमा सहभागी कुल खेलाडीमध्ये ३५७ जना यसअघि पनि विश्वकप खेलिसकेका अनुभवी खेलाडी हुन् भने ८९१ जना पहिलो पटक विश्वकपको अनुभव लिन लागेका छन्। यसअघि विश्वकप उपाधि जितिसकेका २२ जना खेलाडीहरू पनि यस संस्करणमा मैदानमा उत्रनेछन्।
यसपटकको विश्वकपमा सबैभन्दा पाका खेलाडी स्कटल्याण्डका ४३ वर्षीय गोलकिपर क्रेग गोर्डन रहेका छन्। यस्तै, मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी बनेका छन्। प्रतियोगितामा २० वर्षमुनिका २२ जना तथा ४० वर्षभन्दा माथिका सात जना खेलाडी सहभागी हुनेछन्।
४८ टोलीको नयाँ संरचनासँगै केप भर्डे, कुरासाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाउँदै ऐतिहासिक डेब्यु गर्ने भएका छन्। यी राष्ट्रहरूको सहभागिताले प्रतियोगितालाई थप समावेशी र विश्वव्यापी बनाएको फिफाको विश्वास छ।
विश्व फुटबलका चर्चित स्टार लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो तथा मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआले यसपटक छैटौँ विश्वकप खेल्दै नयाँ कीर्तिमान कायम गर्नेछन्। उनीहरू विश्वकपको इतिहासमा सबैभन्दा धेरै संस्करण खेल्ने खेलाडीहरूको सूचीमा समावेश हुनेछन्।
फिफाका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरू विश्वभरका ७१ देशका ४४९ विभिन्न क्लबबाट छनोट भएका छन्। कतार र साउदी अरबका अधिकांश खेलाडी आफ्नै घरेलु लिगमा आबद्ध छन् भने केप भर्डे, सेनेगल र उरुग्वेका सबै खेलाडी विदेशी लिगमा व्यावसायिक फुटबल खेलिरहेका छन्।
प्रशिक्षकतर्फ घानाका कार्लोस क्विरोजले लगातार पाँचौँ पटक विश्वकपमा प्रशिक्षकको भूमिकामा सहभागिता जनाउँदै नयाँ उपलब्धि हासिल गरेका छन्। यसअघि बोरा मिलुटिनोभिकले मात्र यस्तो कीर्तिमान बनाएका थिए।
फिफाको नियमअनुसार कुनै खेलाडी गम्भीर रूपमा घाइते भएमा वा बिरामी परेमा सम्बन्धित टोलीले आफ्नो पहिलो खेल सुरु हुनुभन्दा २४ घण्टाअघि सम्म खेलाडी परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ।
फिफाले सबै टोलीका खेलाडीहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ। आगामी विश्वकपले फुटबलको उत्कृष्टता, विविधता र विश्वव्यापी एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्