तनहुँमा आर्थिक गणना : १४ हजार ९२३ प्रतिष्ठानको विवरण सङ्कलन सम्पन्न
जेष्ठ, १९ काठमाडौं । तनहुँ – जिल्ला आर्थिक गणना कार्यालयले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको विवरण सङ्कलन गरेको छ।
कार्यालय प्रमुख ऋषिराम अधिकारीका अनुसार जिल्लामा कुल १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको छ। यसका लागि ४९ जना गणक र सात जना सुपरिवेक्षक खटाइएको जानकारी उनले दिए।
अधिकारी अधिकारीले आर्थिक गणना आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशनका लागि महत्वपूर्ण रहेको बताए। यसबाट नीति निर्माण, योजना तर्जुमा, लक्ष्य तथा प्रगतिको मापन, कुल गार्हस्थ्य उत्पादन र राष्ट्रिय लेखा अनुमानका लागि तथ्याङ्क उपलब्ध गराइनेछ।
उहाँले आर्थिक गणनामा सङ्कलित विवरण पूर्ण रूपले गोप्य रहने र तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बताए। विवरण सार्वजनिक गर्दा सामूहिक प्रतिनिधित्व हुने गरी मात्र प्रकाशन गरिनेछ।
विसं २०७५ मा गरिएको गणनाअनुसार जिल्लाभर १२ हजार ४३३ प्रतिष्ठान थिए। त्यसमा ६ हजार ९१५ दर्ता भएका र ५ हजार ५१८ दर्ता नभएका थिए।
आर्थिक गणनामा कृषि, वन, पशुपालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत् तथा ग्यास, पानी आपूर्ति, फोहर व्यवस्थापन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवा, वित्तीय तथा बिमा, घरजग्गा व्यवसाय, शिक्षा, मानव स्वास्थ्य र सामाजिक कार्य लगायतका क्षेत्र समावेश छन्।
अधिकारी अधिकारीका अनुसार औद्योगिक प्रतिष्ठानको परिचयात्मक विवरण, प्रमुख आर्थिक क्रियाकलाप, संस्थागत क्षेत्र, दर्ता स्थिति, रोजगारी, व्यवसाय सञ्चालन, आम्दानी–खर्च, ऋण, लगानी र वैदेशिक लगानीसम्बन्धी विवरण समेत सङ्कलन भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्