लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव असार १ गते भव्य रूपमा मनाइने

जेष्ठ १८,काठमाडौं । लोक सेवा आयोग को ७६औँ वार्षिकोत्सव आगामी असार १ गते विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ।

वार्षिकोत्सवको तयारीका लागि आयोगका सदस्य वीरबहादुर राई को संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकारवाला निकायहरूसँगको छलफलपछि विभिन्न निर्णय गरेको हो।

बैठकले वार्षिकोत्सव कार्यक्रमलाई प्रभावकारी र भव्य बनाउन सञ्चार माध्यममार्फत व्यापक प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ। आयोगका गतिविधि, उपलब्धि तथा सार्वजनिक सेवासम्बन्धी जानकारी जनस्तरसम्म पुर्‍याउन सञ्चार क्षेत्रसँग समन्वय बढाइने जनाइएको छ।

उपसमितिमा आयोगका सचिव रामेश्वर दङ्गाल, सहसचिव पुरुषोत्तम शर्मा, सूचना प्रविधि निर्देशक रमेश सुवेदी, उपसचिव सुशीला पौडेल ढकाल, दीपक खडका तथा प्रमुख लेखा नियन्त्रक हिरा न्यौपाने सदस्य रहेका छन्। उपसचिव देवीप्रसाद सुवेदी सदस्य–सचिवको जिम्मेवारीमा छन्।

त्यसैगरी उपसमितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, सार्वजनिक प्रसारण सेवा नेपाल, राष्ट्रिय समाचार समिति (रासस) तथा गोरखापत्र संस्थान का प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी रहेका छन्।

आयोगले वार्षिकोत्सवका अवसरमा संस्थागत उपलब्धिको समीक्षा, सार्वजनिक सेवा प्रणालीबारे अन्तरक्रिया तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्