विश्वकप २०२६ मा नयाँ नियम लागू, गोलकिपरको चोट बहानामा ‘टाइमआउट’ लिन नपाइने

जेष्ठ १८, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा खेलको गति बढाउन र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न विभिन्न नयाँ नियमहरू लागू गरिने भएका छन्। फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलाडीहरूले कोचसँग रणनीतिक छलफल गर्ने अभ्यास रोक्न नयाँ व्यवस्था ल्याइएको जानकारी दिएका छन्।

नयाँ नियमअनुसार गोलकिपर घाइते भई खेल रोकिए पनि अन्य खेलाडीहरू टचलाइनमा गएर प्रशिक्षकसँग छलफल गर्न पाउने छैनन्। उनीहरू मैदानको बीच भाग (सेन्टर सर्कल) मा बस्नुपर्ने वा आफू रहेको स्थानमै रहनुपर्ने व्यवस्था गरिएको छ।

कोलिनाले गोलकिपरलाई चोट लाग्न सक्ने स्वाभाविक भए पनि त्यसलाई खेल रोकेर ‘टाइमआउट’ लिन प्रयोग गर्न नदिइने स्पष्ट पारे। पछिल्ला वर्षहरूमा गोलकिपर मैदानमा लडेर उपचार माग्ने र सो अवसरमा खेलाडीहरू प्रशिक्षकसँग नयाँ रणनीति लिन जाने चलन बढ्दै गएको थियो।

अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) सम्बन्धी प्रोटोकलमा पनि महत्वपूर्ण संशोधन गरेको छ। अब कर्नर वा फ्रि-किक प्रहार हुनुअघि आक्रमणकारी खेलाडीले डिफेन्डरमाथि फाउल गरेको अवस्थामा भिएआरले त्यसको समीक्षा गर्न सक्नेछ। यदि फाउल पुष्टि भएमा त्यसबाट भएको गोल रद्द गर्न सकिनेछ।

नयाँ नियमले विशेषगरी डिफेन्डरहरूलाई संरक्षण गर्ने अपेक्षा गरिएको छ। यद्यपि, यो व्यवस्था आक्रमणकारी पक्षबाट हुने फाउलमा मात्र लागू हुनेछ।

फिफाले खेलाडीहरूको अनुशासनलाई थप कडाइका साथ लागू गर्न अर्को व्यवस्था पनि गरेको छ। अब विपक्षी खेलाडी वा रेफ्रीसँग विवाद गर्ने क्रममा हात, कपडा वा पाखुराले मुख छोपेर बोल्ने खेलाडीलाई रातो कार्ड देखाउन सकिनेछ। रंगभेदी वा अपमानजनक टिप्पणी लुकाएर गर्ने प्रवृत्ति रोक्न यस्तो नियम ल्याइएको बताइएको छ। सामान्य वा मित्रवत संवादका क्रममा भने यो नियम लागू हुने छैन।

खेलको गति बढाउने उद्देश्यले केही नयाँ ‘काउन्टडाउन’ नियमहरू पनि लागू गरिने भएका छन्। नियतवश ढिलो गरी थ्रो-इन गरेमा पाँच सेकेन्डपछि बल विपक्षी टोलीलाई दिइनेछ। त्यस्तै, गोल-किक लिन अनावश्यक ढिलाइ गरेमा विपक्षी टोलीलाई कर्नर प्रदान गरिनेछ।

सब्स्टिच्युसन प्रक्रियामा पनि नयाँ व्यवस्था गरिएको छ। मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र नजिकको बिन्दुबाट मैदान छाड्नुपर्नेछ। यदि ढिलाइ गरेमा प्रतिस्थापन खेलाडीले एक मिनेटसम्म मैदान प्रवेश गर्न पाउने छैन र टोलीले अस्थायी रूपमा १० खेलाडीमा खेल्नुपर्नेछ।

उपचारका लागि मैदानमा फिजियो बोलाइएको खेलाडीले कम्तीमा ६० सेकेन्ड मैदान बाहिर बस्नुपर्ने नियम पनि लागू गरिनेछ।

यसका अतिरिक्त, भिएआरले कर्नर सही रूपमा प्रदान गरिएको छ वा छैन भन्ने विषयमा द्रुत समीक्षा गर्न सक्नेछ। दोस्रो पहेंलो कार्डका आधारमा खेलाडीलाई मैदानबाट बाहिर पठाउने निर्णयको समेत भिएआरमार्फत समीक्षा गर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्