सक्षम कर प्रशासन अहिलेको आवश्यकता

काठमाडौँ । मुलुकको आर्थिक सम्बृद्धिका लागि कर प्रशासनलाई सबल र सक्षम बनाउनुपर्नेमा विभिन्न बक्ताहरुले जोड दिएका छन् ।

छैटौँ राष्ट्रिय कर दिवसको अबसरमा आज आयोजित कार्यक्रमका बक्ताहरुले मुलुकको समृद्धिका लागि अधिकतम स्रोत परिचालन गर्न कर प्रशासनको सबलीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तर गर्न दिगो विकासको लक्ष्य हासिल गर्नूपर्ने वताए । उनले सन् २०३० भित्र मध्यम आय भएको मुलुकमा पु¥याउनुपर्ने अभिभारा सरकारसमक्ष चुनौति भएको बताए ।

सचिब रेग्मीले लक्ष्य प्राप्तिका लागि मुलुकमा ठूलो आर्थिक स्रोत परिचालन आवश्यक भएको बताउदै उनले मुलुकको कर प्रशासनलाई सबल र सक्षम बनाउँदै लानुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थसचिव शंकरप्रसाद अधिकारीले मुलुकले लिएको लक्ष्य पूरा गर्न लगानी, उत्पादन, रोजगारी, आय तथा बचतमा अभिवद्धि गर्ने र व्यावसायिक वातावरण सुधार गर्नुपर्नेमा जोड दिए ।

कर दिवस समारोहका अध्यक्ष तथा राजश्व सचिव शिशिरकुमार ढुंगानाले संविधानले निर्दिष्ट गरेको आर्थिक समृद्धि हासिल गर्न अधिकतम कर परिचालन आवश्यक भएको धारणा व्यक्त गरे ।

आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले मुलुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा कर प्रशासनलाई सरल र सहज बनाउँदै लगिने जानकारी दिए ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले करको दायरा बढाउन करदातामैत्री नीति तथा कार्यक्रम आवश्यक भएको बताए ।

कार्यक्रममा स्मारिका र विभागको वार्षिक प्रतिवेदन लोकार्पण गरिएको थियो । केन्द्रीय विजक अनुगमन प्रणालीका प्रथम सहभागी सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशकलाई प्रमाणपत्र वितरण गरिएको थियो । कर दिवस मनाउने क्रममा सरकारले आज बिहान प्रभावफेरी कार्यक्रम गरेको थियो । यो वर्षको नारा ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्