एसियन गेम्स छनोट खेल्न नेपाली टोली सिंगापुर प्रस्थान

जेठ १४, काठमाडौं । एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान गरेको छ। त्यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टोलीलाई विदाइ गरेको हो।

छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन रहेका छन्। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन्।

प्रतियोगिताबाट सेमिफाइनल पुग्ने चार टोली आगामी एसियन गेम्सका लागि छनोट हुनेछन्। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्समा स्थान बनाउन नेपालले समूह चरण पार गर्दै कम्तीमा एक खेल जित्नुपर्नेछ।

छनोट प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुनेछ। छनोट चरणबाट चार टोलीले स्थान बनाउनेछन् भने आयोजक जापानसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन्। ती टोली आइसिसी वरीयताको आधारमा छनोट भएका हुन्।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम समावेश छन्।

प्रतिक्रिया दिनुहोस्