बीपी राजमार्ग पुनर्निर्माण तीव्र, आगामी वर्षभित्र कालोपत्रे सक्ने लक्ष्य

जेठ १४, काठमाडौं ।जापान सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको बीपी राजमार्गलाई दुई लेनको सुरक्षित सडकका रूपमा विकास गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । पिप्ले–बर्खेखोला खण्डको ३.२ किलोमिटर सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ ।

यससँगै नेपाल सरकारको लगानीमा निर्माण हुने अन्य तीन खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिसकेको छ । आयोजनाअन्तर्गत काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण कार्य धमाधम भइरहेको जनाइएको छ ।

पुनर्निर्माणपछि बीपी राजमार्ग दुई लेनको हुनेछ । सडकसँगै रहेका पाँच वटा पुललाई पनि दुई लेनमा विस्तार गरिनेछ । बाढी तथा पहिरोबाट पुनः क्षति हुन नदिन ‘आरसीसी’ पर्खाल, प्लम्प पर्खाल निर्माण तथा सडक चौडा गर्ने कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

आगामी वर्षभित्र कालोपत्रेसहित सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बीपी राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ ।

उल्लेखनीय रूपमा, २०५३ सालदेखि जापान सरकारकै सहयोगमा निर्माण सुरु भएको बीपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

यसैबीच, पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले निर्माण व्यवसायीहरूलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्