नेपालमा पेट्रोलियम भण्डारण अझै कमजोर, डिजेल १६ दिन र पेट्रोल १४ दिन मात्रै धान्ने

जेठ १३ काठमाडौं ; नेपाल आयल निगम को पेट्रोलियम भण्डारण क्षमतामा केही सुधार देखिए पनि देशको ऊर्जा सुरक्षा अझै जोखिममै रहेको पाइएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर रहेका निगमका डिपोहरूको कुल भण्डारण क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको छ।

सर्वेक्षणअनुसार हालको भण्डारण क्षमताले देशको माग धेरै दिन धान्न सक्ने अवस्था छैन। डिजेलको कुल भण्डारण क्षमता ६० हजार ४२१ किलोलिटर रहेको छ, जसले अधिकतम १६ दिनको माग मात्र धान्न सक्छ। पेट्रोलको २८ हजार ५४२ किलोलिटर भण्डारणले १४ दिनको माग पूरा गर्ने देखिएको छ भने हवाई इन्धनको ९ हजार १२३ किलोलिटर क्षमताले १७ दिनसम्म पुग्ने उल्लेख छ।

मट्टितेलको भण्डारण क्षमता ४ हजार १९५ किलोलिटर भए पनि यसको खपत घटेकाले हालको भण्डारणले १४५ दिनसम्म धान्न सक्ने सर्वेक्षणले देखाएको छ।

प्रतिवेदनअनुसार नेपालको कुल भण्डारण क्षमताको सबैभन्दा ठूलो हिस्सा मधेस प्रदेशस्थित अमलेखगन्ज डिपो मा केन्द्रित छ। कुल क्षमताको ४३.५ प्रतिशत भण्डारण अमलेखगन्जमै रहेको छ। काठमाडौंमा २१.९ प्रतिशत, पोखरामा १३.३ प्रतिशत र विराटनगरमा ९.९ प्रतिशत भण्डारण क्षमता रहेको उल्लेख गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनसम्मको माग धान्न सक्ने क्षमता रहेको छ भने कर्णाली प्रदेश सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ। कर्णालीको भण्डारणले केवल १ दिनको माग मात्र धान्न सक्ने प्रतिवेदनमा उल्लेख छ। भैरहवा, नेपालगन्ज र धनगढी क्षेत्रमा पनि भण्डारण क्षमता न्यून रहेको औंल्याइएको छ।

विद्युत प्रयोग बढ्दै जाँदा मट्टितेल र डिजेलको खपत केही घटे पनि पेट्रोलको माग भने निरन्तर बढिरहेको देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोल आयात १० प्रतिशत र डिजेल आयात ९.९ प्रतिशतले घटेको तथ्यांक सर्वेक्षणमा समेटिएको छ।

सरकारले ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण क्षमता विस्तार गर्ने नीति लिएको भए पनि हालको प्रगति हेर्दा अझै ठूलो लगानी, पूर्वाधार विस्तार र रणनीतिक भण्डारण केन्द्र निर्माणको आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्