एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीनलाई १९ रनले पराजित
जेठ १३ काठमाडौं ; एसियन गेम्स क्रिकेट छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा बलियो आरम्भ गरेको हो।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो। चीनका कप्तान जु मिंगेले सर्वाधिक ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका लागि बलिङमा रिया शर्माले २ विकेट लिइन् भने मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। उपकप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ६३ रनको योगदान गरिन्। उनले ५७ बलमा ६ चौका प्रहार गरिन्।
ओपनर सम्झना खड्का ४ रनमा आउट भइन् भने सोनी पाख्रिनले १८ रन जोडिन्। रुबी पोद्दारले नटआउट २२ रन बनाइन्। चीनका लागि बलिङमा मा रुइकेले २ विकेट लिइन्।
नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भोलि इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ए मा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ रहेका छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल पार गर्ने दुई टोली र तेस्रो स्थान हासिल गर्ने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट हुनेछन्।




प्रतिक्रिया दिनुहोस्