इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु
काठमाडौं, ६ जेष्ठ । इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमणबाट थप नौ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो घटना अमेरिकाले लेबनान र इजरायलबीच युद्धविराम ४५ दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको एक साता पनि नपुग्दै यो घटना भएको हो । युद्धविराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ ।
इजरायलले आफूले हिजबुल्लाहलाई मात्र लक्षित गरेको बताउने गरेको छ । तर आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण पनि मारिने गरेका छन् ।
हिजबुल्लाहले पनि उत्तरी इजरायलका बस्ती तथा दक्षिणी लेबनानका केही क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि रकेट र ड्रोन आक्रमण गरिरहेको छ । मंगलबार हिजबुल्लाहको आक्रमणबाट एक जना इजरायली सेना मारिएका थिए ।
इरान समर्थित सशस्त्र शिया इस्लामवादी समूह हिजबुल्लाहले अमेरिकी–इजरायली हमलाको प्रतिशोधस्वरूप इजरायलमाथि रकेट प्रहार गरेपछि मार्च २ मा लेबनान पनि युद्धमा तानिएको थियो । अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा इरानका सर्वोच्च नेता अलि खामेनी लगायतका शीर्ष नेताहरु मारिएका थिए ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्चयता इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।
यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरू दक्षिणी लेबनानको हद्दाथा नगर क्षेत्रतर्फ अघि बढ्न खोजेको र इजरायली सेनासँग भिडन्त जारी रहेको जनाएको छ ।
इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना लडाकुहरूले एउटा इजरायली ट्यांक ध्वस्त पारेको दाबी पनि गरेको छ ।
हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली फौजमाथि र उत्तरी इजरायलको सीमा नजिक रहेको ‘आइरन डोम’ हवाई प्रतिरक्षा प्रणालीमाथि पनि आक्रमण गरेको जनाएको छ । समाचार एजेन्सी











प्रतिक्रिया दिनुहोस्