मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने मेला सुरु

काठमाडौं, ३ जेष्ठ । मच्छेगाउँ ९मत्स्यगाउँ० स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ । यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् ।

मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ । साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ ।

पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ । प्रलयकालमा मत्स्यरूपी भगवान्ले समुद्रमा डुङ्गाको काम गर्दै वेदको रक्षा गरेको धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्