चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्तापछि ताइवानलाई ट्रम्पले भने, ‘स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।’

काठमाडौं, २ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् ।

बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनको अन्त्यमा शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले भने, “म कसैले स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।”

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै ताइवानले आफूलाई सार्वभौम राष्ट्र मानिसकेको भन्दै औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नभएको बताउँदै आएका छन् ।

चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्न सक्ने सम्भावनालाई पनि उसले अस्वीकार गरेको छैन । यसअघि ट्रम्पले ताइवानका विषयमा आफूले कुनै पनि पक्षमा प्रतिबद्धता नजनाएको बताएका थिए ।

लबदष्
िफक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले यस विषयमा अमेरिकी नीति परिवर्तन नभएको दोहोर्‍याए ।

उनले भने, “तपाईंलाई थाहा छ, हामीले युद्ध लड्नका लागि नौ हजार ५०० माइल यात्रा गर्नुपर्ने हुन्छ । म त्यो चाहन्नँ । म उनीहरू शान्त रहून् भन्ने चाहन्छु । म चीन शान्त रहोस् भन्ने चाहन्छु ।”

वासिङ्टन फर्किने क्रममा विमानभित्र पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफू र सीबीच ताइवानका विषयमा धेरै कुराकानी भएको बताए । तर, चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले टिप्पणी गर्न अस्वीकार गरे ।

ट्रम्पका अनुसार सी चिनफिङ ताइवानका विषयमा निकै संवेदनशील छन् र कुनै पनि स्वतन्त्रता आन्दोलन हेर्न चाहँदैनन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले चेतावनी दिँदै भनेका थिए, “ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण मुद्दा हो । यदि, यसलाई गलत तरिकाले हेरियो भने दुई देशबीच टकराव वा द्वन्द्व समेत हुन सक्छ ।”

चीनसँग ताइवानका विषयमा द्वन्द्व हुन सक्ने सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “छैन, मलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ हामी ठीक हुनेछौँ । सीे युद्ध चाहँदैनन् ।”

चीनले हालका वर्षहरूमा ताइवान वरपर सैन्य अभ्यासहरू बढाएको छ, जसले क्षेत्रमा तनाव बढाएको छ । र, अमेरिकाले कायम राख्दै आएको रणनीतिक सन्तुलनको परीक्षा लिइरहेको छ ।

गत वर्षको अन्त्यमा ट्रम्प प्रशासनले ताइवानलाई उन्नत रकेट लन्चर तथा विभिन्न मिसाइलसहित ११ अर्ब डलर बराबरको हतियार बिक्री प्याकेज घोषणा गरेको थियो, जसको बेइजिङले कडा विरोध गरेको थियो ।

ट्रम्पले उक्त हतियार बिक्री अघि बढाउने वा नबढाउने विषयमा चाँडै निर्णय गर्ने बताएका छन् । उनले आफू र सीबीच यसबारेमा विस्तृत रूपमा छलफल भएको पनि बताए ।

उनले अगाडि भने, “मैले यसबारे अहिले ताइवान चलाइरहेका व्यक्तिसँग पनि कुरा गर्नुपर्छ ।”

अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन, यद्यपि पर्याप्त अनौपचारिक सम्बन्ध भने कायम छ । चीनसँग ठूलो तनाव उत्पन्न हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपतिहरूले परम्परागत रूपमा ताइवानका नेतासँग प्रत्यक्ष संवाद गर्दैनन् । चीनले राष्ट्रपतिलाई चिङ–तेलाई पृथकतावादी नेताका रूपमा हेर्छ ।

ट्रम्पले फक्स न्यूजलाई भने, “हामी युद्ध चाहँदैनौँ । यदि, अहिलेको अवस्था जस्तै रह्यो भने मलाई लाग्छ चीन त्यसबाट सन्तुष्ट हुनेछ । तर, हामी कसैले ‘अमेरिकाको हामीलाई समर्थन छ, त्यसैले अब स्वतन्त्र बनौँ’ भन्ने अवस्था सिर्जना होस् भन्ने पक्षमा छैनौँ ।” बीबीसी

प्रतिक्रिया दिनुहोस्