समयमै परीक्षण, पहिचान, उपचार र खानपानमा ध्यानदिए क्यान्सरबाट बच्न सकिन्छः विज्ञहरु

काठमाडौंं, २७ बैशाख । गलत तथा अस्वस्थ खानपानले क्यान्सर रोग बढ्दै गएको सन्दर्भमा समयमै परीक्षण, पहिचान र उपचार गर्न सके क्यान्सरका धेरै बिरामीको ज्यान जोगाउन सकिनेमा विज्ञहरूले जोड दिएका छन्।

कार्यक्रममा बोल्ने क्यान्सरविज्ञहरुले नियमित स्वास्थ्य परीक्षण, जीवनशैली सुधार, धूम्रपान तथा मदिराजन्य पदार्थबाट टाढा रहने, स्वस्थ खानपान र नियमित व्यायाम गरेमा क्यान्सरबाट बच्न सकिने बताएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. १को आर्थिक सहयोगमा साथी संगी नेपाल र समाजसेवा समितिको संयुुक्त आयोजनामा क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘क्यान्सर सचेतना कार्यक्रम २०८३’ गरिएको हो ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पितल तथा रिसर्चसेन्टरका अध्यक्ष तथा विज्ञ सुदिप श्रेष्ठले क्यान्सरलाई डराउनुपर्ने रोग नभएको बताउँदै समयमै पहिचान र उपचार गरेमा धेरै हदसम्म निको हुन सक्के बताए । उनले प्रारम्भिक जाँच र नियमित परीक्षण अत्यन्त आवश्यक रहेको कुरा औल्याए । क्यान्सरबाट बच्नका लागि नियमित स्वास्थ्य परीक्षण, जीवनशैली सुधार, धूम्रपान तथा मदिराजन्य पदार्थबाट टाढा रहने, स्वस्थ खानपान र नियमित व्यायामको आवश्यक भ्एको बताए ।

कार्यक्रममा क्यान्सर विज्ञहरुले प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा समयमै उपचारको महत्वबारे, क्यान्सर किन हुन्छ, कुन क्यान्सरको उपचार कसरी गर्न सकिन्छ, कुन र कस्ता किसिमका खानेकुराहरु खाँदा क्यान्सरको जोखिम हुन्छ भन्ने बरेमा चर्चा र परामर्श दिएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, विद्यार्थी तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। क्यान्सर रोग बढ्दै गएको सन्दर्भमा समयमै परीक्षण र उपचार गर्न सके धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ भन्नेमा सबैलाई सचेत गरिएको छ । यसबाट धेरै नागरिकलाई सचेत गरिएको आयोजक विश्वास छ ।

क्यान्सरसम्बन्धी गलत धारणा हटाई समुदायस्तरमा सही जानकारी पुर्‍याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ । ‘स्वस्थ नारी, स्वस्थ परिवार, समृद्ध समाजको आधार’ भन्ने नारासहित क्यान्सर सचेतना कार्यक्रम २०८३ सम्पन्न भएको हो ।

क्यान्सरको प्रारम्भिक लक्षण, समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र उपचार प्रक्रियाबारे जानकारी दिंदै क्यान्सर समयमै पत्ता लगाउन सके पूर्ण रूपमा निको हुन सक्ने भन्दै लक्षण नदेखिए पनि नियमित जाँच गराउन विज्ञहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्