मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा हुने, सतर्कता अपनाउनुहुन विभागको अनुरोध

काठमाडौं, २१ बेशाख । पश्चिम्री वायु तथा स्थानीय वायुका कारण आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ।
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।

विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्