२५७०औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि सम्पन्न, मानव कल्याणका लागि बुद्ध शिक्षा प्रवद्र्धनमा जोड

काठमाडौं, १८ बैशाख । विश्व शान्तिका दुत भगवान गौतम बुद्धको २५७० औँ जयन्ती विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा शुक्रबार काठमाडौंको बौद्धमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित शान्ति ¥याली गरि कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा विभिन्न वक्ताहरुले बुद्ध शिक्षा मानवीय मूल्य, विश्व शान्ति, दार्शनिक, जीवन चरित्रको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यसको प्रवद्र्धनमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुद्ध साहित्यले मानिसलाई प्रेम, अहिंसा र ज्ञानको मार्गमा डोऱ्याई सुखद समाज निर्माण गर्न मार्गनिर्देशन गर्ने विचार व्यक्त गरे ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले बौद्ध दर्शनले जातजाति, लिङ्ग वा वर्गको विभेद नगरी समानता र समताको वकालत गर्ने बताउँदै समाजमा प्रजातन्त्र, मानव अधिकार, भ्रातृत्व, मानवीय मूल्य र समानता कायम गर्न बौद्ध धर्मका सिद्धान्तहरूलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।

गुठी प्रमुख चिनियाँ लामा भूपति बज्रले बुद्ध शिक्षाले मानव कल्याणको अध्ययन, ध्यान, र साधनाका माध्यमबाट मनलाई शुद्ध बनाउने र मानसिक शान्ति प्राप्त गर्ने उपायहरू सिकाउने विश्वास व्यक्त गरे ।

गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरि वैशाख १८ गते विशेष कार्यक्रम गरि समापन गरिएको छ । गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेले  वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना गएिको  बताए । उनले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु पूजा सम्पन्न  गरी ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्तिविक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनासमेत गरेको जानकारी दिए ।

सो अवसरमा ८४ लाख देवी–देवताले समुद्घाटन गरेको मानिने काश्यप बुद्धको अस्तु तथा स्वयम्भूनाथ स्तूपसँग सम्बन्धित धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको थियो ।

उद्घाटन शान्तिको प्रतीक परेवाको जोडी उडाएर तथा दीप प्रज्वलन गरी गरिएको थियो ।

त्यस्तै दिउँसो २ बजेदेखि ऐतिहासिक गौतम बुद्धको मूर्तिलाई बौद्ध महास्तूप परिसरमा विभिन्न धर्मावलम्बी गुरुहरू, संघसंस्थाहरू तथा परमपूज्य औतारी धर्मगुरु चिनियाँ लामा भूपति बज्र लामाको अगुवाइमा परिक्रमा समेत गरिएको थियो ।

पश्चिम पूर्वीयदेशहरुमा भईरहेको युद्ध र यसले मानव कल्णमा पारेको प्रभावलाई समेत यस कार्यक्रममार्फत धार्मिक आस्था अभिवृद्धि, सांस्कृतिक सम्पदाको संरक्षण तथा विश्व शान्तिको सन्देश फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यसले भगवान बुद्धको सन्देश तथा वाणीले मानिसमा धार्मिक सचेताना अभिवृद्धि हुने विश्वास गरिन्छ ।

बुद्धको अस्थि धातु प्रदर्शन गरिएको परिसरमा करिब एक लाख भक्तजनले बौद्धनाथ चैत्यको दर्शन गरेको जनाइएको छ ।

यस्तै आज भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी, विभिन्न स्थानका बौद्ध विहार तथा गुम्बाहरुमा बुद्धको शान्ति सन्देश तथा महावाणीहरुको चर्चा गरि बुद्ध जयन्ति मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्