विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा बिहानैदेखि बौद्ध अनुयायीहरूको घुइँचो

काठमाडौँ, १८ वैशाख। विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा बुद्धजयन्ती पर्वका अवसरमा आज बिहानैदेखि बौद्ध अनुयायीहरूको घुइँचो लागेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा पूजाआजा तथा दर्शनकका लागि देश विदेशबाट भक्तजनको घुइँचो लागेको हो।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, काठमाडौँ महानगरपालिका, स्थानीय क्लब, सुरक्षाकर्मीको समन्वयमा मेलालाई व्यवस्थित बनाउने काम भएको छ।

मन्दिरमा दर्शनार्थीको लाइन तथा भीड व्यवस्थापन, भक्तजनलाई सहजता तथा सुरक्षा प्रवन्ध, पथ प्रदर्शनलगायत कार्यका लागि स्वयंसेवक परिचालन गरिएको छ। मन्दिर परिसरमा प्रसाद वितरण गरिएको छ।

शाक्यमुनि बुद्ध तथा सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो वर्ष २५७० औँ वुद्ध जयन्ती मनाउने लागिएको हो।

बुद्ध जयन्तीलाई नेपालसहित भारत, चीन, श्रीलङ्का, भुटान, थाइल्याण्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा विशेष सम्मानका साथ मनाइन्छ ।

स्वयम्भूस्थित आनन्दकुटी विहारले बुद्ध पूजामा विभिन्न देशका राजदूतसहित उच्च तहका व्यक्तिलाई निम्ता गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो।

विहारले अस्थि धातुसमेत प्रदर्शन गर्नेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्