बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध
काठमाडौं, १६ बैशाख । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनस् पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुनस् अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको जानकारी दिए ।
बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ ।
धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ ।
बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि भनिएको छ ।











प्रतिक्रिया दिनुहोस्