हावाहुरी सुरु हुने समय अध्यावधि, यी जिल्लाहरुमा हावाहुरीको प्रभाव पर्ने

काठमाडौं, १६ बैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ ।

हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।

यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।

गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले हिजो जारी गरेको सूचनामा उल्लेख भएको हावाहुरी सुरु हुने समय पनि आज संशोधन गरेको छ । महाशाखाको अध्यावधिक सूचनामा आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६स्४५ बजे समाप्त हुने उल्लेख छ ।

हिजो महाशाखाले वैशाख १६ गते साँझ ५स्४५ हुरी चल्न सुरु हुने र १७ गते बिहान ७स्४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।

महाशाखाका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ ।

देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्