प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगे, आज हटाईंदै

काठमााडौंं, १२ बैशाख । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको छ।

शनिबार बिहानैदेखि बस्ती खाली गर्नका लागि महानगर प्रहरी गाडीसहित सुकुम्बासी बस्तीमा पुगेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी रातिदेखि नै त्यस क्षेत्रमा परिचालित छ। बिहान थप संख्यामा प्रहरी तैनाथ गरिएको छ।

सुरक्षाकर्मी र महानगर प्रहरी वस्ती नै प्रवेश भने गरेको छैन। उनीहरू प्रसुतिगृह छिर्ने मोडदेखि करिडोरसम्म सडकमा तैनाथ छन्।

भित्र सुकुम्बासीहरू बिहानसम्म आफ्नो सामान समेटिरहेका छन्। केही सुकुम्बासीहरूले शुक्रबार नै बस्ती छाडेका थिए।

अन्यत्र सरिहाल्ने अवस्था नभएकाहरू भने बिहानैदेखि सामान जम्मा गरिरहेका छन्। शनिबार सरकारले काठमाडौंका तीन ठाउँमा रहेको सुकुम्बासी बस्ती खाली गर्दैछ।

थापाथली, सिनामंगलको गैरीगाउँ र मनोहराको सुकुम्बासी बस्ती शनिबार नै खाली गरिँदैछ।

सुरूवातमा थापाथलीको सुकुम्बासी बस्ती हटाउने तयारी छ। तदनुसार थापाथली क्षेत्रमा बिहानैदखि प्रहरीको ठूलो उपस्थिति छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी रातिदेखि नै त्यस क्षेत्रमा तैनाथ छन्। काठमाडौं महानगर प्रहरी पनि बिहान ७ बजेपछि थापाथली क्षेत्रमा पुगेको छ।

जनपद प्रहरी र सशस्त्र प्रहरी प्रसूति गृह मोडदेखि बागमती करिडोर क्षेत्रमा ुशिल्डु सहित तैनाथ छन्।

गाडीसहित पुगेको महानगर प्रहरीले माइकिङ पनि गरेको छ। सुकुम्बासी बस्तीमा बाहिरका मानिसहरूलाई प्रवेश गर्न दिइएको छैन। समय समयमा नेपाली सेनाको टोलीले पनि गस्ती गरिरहेको छ।

प्रशासनले शुक्रबार साँझसम्म मानिसहरूलाई सामान सार्न उर्दी जारी गरेको थियो। तर बाहिर बस्नका लागि कोठा नभेटिएकाहरू वस्तीमै थिए। उनीहरू पनि बिहानैदेखि सामान समेटिरहेका छन्। घरका जस्ताहरू निकालेर सडक किनारमा ल्याइरहेका छन्।

वस्तीका मानिसहरू स्वस्फूर्त रूपमा सामान सारिरहेको र प्रहरी र महानगर प्रहरी बलले पनि सामान सार्न सहयोग गरिरहेको छ। यसले सुकुम्बासी वस्ती शान्तिपूर्ण रूपमा खाली हुने देखिएको छ। थापाथली क्षेत्रको बस्ती हटाएपछि सिनामंगल र मनोहरा क्षेत्रको हटाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्