ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण भव्यरूपमा तयारी गरिदैं

काठमाडौं, १० बैशाख । आगामी वैशाखमा ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण भव्यरूपमा आयोजना हुने भएको छ। कार्यक्रम काठमाडौंको सुकेधारा स्थिति मर्क्योर होटलमा हुने आयोजकले जनाएको छ।

अवार्डको आयोजना दक्ष ईन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहेको छ।

यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका दक्ष र प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको छ ।

अध्यक्ष पाण्डेका अनुसार अवार्डको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरूको सम्मान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु हो।

गत वर्ष पनि सोही स्थानमा सम्पन्न पहिलो संस्करण सफलतापूर्वक आयोजन गरिएको थियो, जहाँ देश तथा विदेशका विभिन्न क्षेत्रमा ख्याति कमाएका विज्ञ र व्यवसायिक व्यक्तित्वहरू सम्मानित भएका थिए।

यस वर्षको दोस्रो संस्करणलाई अझ व्यवस्थित, आकर्षक र प्रभावशाली बनाउने तयारी भइरहेको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्