हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा
काठमाडौं, १० बैशाख। रानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले बुधबार हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकाले इरानी पानीजहाज कब्जा गरेपछि इरानले हर्मुज खुला भएको घोषणा गरेको भोलिपल्टै पुनः बन्द गरेको थियो। त्यसयता आइआरजिसीले त्यहाँ कडाइ गर्दै आएको छ।
बुधबार आइआरजिसीको नौसैनिक युनिटहरूले सुरूमा ती जहाजहरूलाई चेतावनी दिएको थियो। त्यसका बाबजुद जहाज नरोकिएपछि गनबोटबाट ती जहाजमा गोलाबारी गरिएको थियो।
समुद्री नियम उल्लंघन गरेको भनेर ती दुई पानीजहाजलाई एस्कर्ट गरेर इरानी बन्दरगाहमा पुर्याइएको इरानी अर्धसरकारी समाचार संस्था तस्निमलाई हवाला दिँदै रोयटर्सले लेखेको छ।
दुई पानी जहाजमध्ये एउटा लाइबेरियाको झण्डा बोकेको एपामिनोन्डास र अर्को पानामाको झण्डा बोकेको एमएससी फ्रान्सेस्का रहेको बताइएको छ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले पहिलोपटक जहाज नियन्त्रणमा लिएको हो।
केही रिपोर्टका अनुसार जहाजको ब्रिज ९नियन्त्रण कक्ष० र संरचनामा क्षति पुगेको थियो। यद्यपि चालकदल सुरक्षित रहेको बताइएको छ।
आइआरजिसीको नौसेनाले बुधबार नै तेस्रो जहाजमा पनि आक्रमण गरेको थियो। त्यसलाई भने पछि अघि बढ्न दिइएको बताइएको छ।
अमेरिकाले इरानले जहाज नियन्त्रणमा लिँदा युद्धविराम उल्लंघन नहुने बताएको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले दुवै पानीजहाज अमेरिका वा इसराइलको नभएका कारण त्यसले युद्धविराममा असर नगर्ने बताएकी हुन्।
फक्स न्युजसँगको कुराकानीमा लेभिटले इरानको नौसेना ध्वस्त पारिसकेको र दुई जहाजहरू गन बोटहरूबाट आक्रमण गरिनुले इरानले समुद्री डाँकाहरूको समूह जस्तै व्यवहार गरेको बताइन्।
हर्मुजमा अमेरिकाले पनि नाकाबन्दी जारी राखेको छ। उसले इरानबाट आउने र इरानका बन्दरगाहमा जाने पानीजहाजहरूलाई रोक्दै आएको छ।
अमेरिकाले नाकाबन्दी जारी राख्दासम्म वार्तामा नबस्ने इरानको अडान छ। त्यसकारण इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ता हुन सकेन। वार्ताका लागि अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्स जाने निश्चित भइसकेको थियो। तर इरानले वार्ता टोली नपठाएपछि ट्रम्पले बुधबारसम्मका लागि मात्रै भनेका युद्धविराम अनिश्चितकालसम्मका लागि लम्ब्याएका छन्।
इरानी संसदका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिकी नाकाबन्दी कायम रहँदासम्म पूर्ण युद्धविरामको कुनै अर्थ नरहने बताएका छन्।
इरानले बुधबार तेहरानमा शक्ति प्रदर्शन समेत गरेको थियो।
रोयटर्सका अनुसार एक कार्यक्रममा उसले आफ्नो ब्यालिस्टिक हतियार सार्वजनिक गरेको थियो। राज्य टेलिभिजनमा प्रसारित दृश्यहरूमा हर्मुज जलमार्ग अनिश्चितकालसम्म इरानको नियन्त्रणमा रहेको सन्देश दिन खोजिएको भनेर रोयटर्सले लेखेको छ।
हर्मुज विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने मार्ग हो। हालको अवरोधका कारण विश्व अर्थतन्त्रमा दबाब बढ्दै गएको छ भने अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य दुई सातापछि पहिलोपटक प्रतिव्यारेल १०० डलर नाघेको छ।
अमेरिकी सेनाका अनुसार नाकाबन्दीका कारण हालसम्म कम्तीमा २९ वटा जहाजलाई फर्काइएको छ। सामान्य अवस्थामा दैनिक करिब १३० जहाज आवतजावत गर्ने उक्त मार्गमा अहिले संख्या उल्लेखनीय रूपमा घटेको छ।
युद्ध अन्त्यका लागि अमेरिका इरानले उच्चस्तरीय युरेनियम परित्याग गर्नुपर्ने अडानमा छ भने इरानले युद्ध अन्त्य, प्रतिबन्ध हटाउने, क्षतिपूर्ति र हर्मुज जलडमरूमा आफ्नो नियन्त्रणको मान्यता माग्दै आएको छ। यी मुख्य विषयमा सहमति नजुट्दा स्थिति अझै अनिश्चित बनेको छ।














प्रतिक्रिया दिनुहोस्