इरान र अमेरिकाबीच १५ घण्टा प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद
काठमाडौं, २९ चैत । पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्।
सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि ९४७ वर्षयता० यी दुई देशका उच्च तहका नेताहरू यसरी प्रत्यक्ष वार्तामा बसेको यो पहिलो पटक हो।
यस ऐतिहासिक वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्। उनको टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकफ पनि सहभागी छन्।
यसैगरी, इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने टोलीमा विदेशमन्त्री अब्बास अराघचीलगायतका नेताहरू पनि समावेश छन्।
इस्लामावादस्थित सेरेना होटलमा प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन वार्ता चलिरहेको छ। शनिबार राति विशेषज्ञहरूको टोलीले घण्टौं लामो प्रत्यक्ष छलफलपछि लिखित प्रस्ताव र मस्यौदाहरू आदानप्रदान गरेका थिए।
दुई देशका विशेषज्ञ समितिहरूले सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र, कानुन र आणविक मुद्दाहरूमा गहिरो छलफल गरेका छन्। यद्यपि, केही मुख्य विषयहरूमा अझै सहमति जुट्न सकेको छैन।
इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति र लेबनानमा भइरहेको इजरायली आक्रमण प्रमुख विवादका विषय बनेका छन्।
इरानले लेबनानमाथि इजरायलले गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेको छ। साथै, इरानले इजरायल र अमेरिकाका निर्णयहरू आपसमा जोडिएकाले यदि यो वार्ता निष्कर्षविहीन भएमा त्यसको दोष इजरायललाई मात्र नभई अमेरिकालाई पनि जाने स्पष्ट पारेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सामाजिक सञ्जाल एक्समा लेख्दै इरानी प्रतिनिधिमण्डल देशको हितको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले आफ्नो टोलीले साहसपूर्वक वार्ता गर्ने आशा व्यक्त गर्दै वार्ताको नतिजा जे भए पनि सरकार सधैं आफ्ना जनताको साथमा उभिने स्पष्ट पारेका छन्।
यसैबीच, वार्ताका लागि इस्लामावाद पुगेपछि सभामुख गालिबाफले विमानको सिटमा रगत लतपतिएका स्कुल झोला, जुत्ता र ४ बालबालिकाको तस्बिर राखेर एउटा मार्मिक तस्बिर सेयर गरेका थिए।
यो फेब्रुअरी २८ मा युद्धको पहिलो दिन इरानी सहर मिनाबको प्राथमिक विद्यालयमा भएको आक्रमणको स्मरण थियो, जसमा १६८ जना ९बालबालिका र शिक्षक० को ज्यान गएको थियो। इरानले यस आक्रमणको दोष अमेरिका र इजरायलमाथि लगाएको छ भने अमेरिकाले यसको अनुसन्धान गरिरहेको जनाएको छ।
वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए अमेरिकाले इरानमाथि फेरि भीषण आक्रमण गर्ने कडा चेतावनी दिएका थिए। त्यस्तै, उपराष्ट्रपति भान्सले वार्ताबाट सकारात्मक नतिजाको अपेक्षा गरे पनि इरानले अमेरिकासँग चलाखी गर्न नहुने बताएका थिए।
यस प्रत्यक्ष वार्तासँगै मध्यपूर्वको शान्तिका लागि अर्को महत्त्वपूर्ण प्रयासस्वरूप आगामी अप्रिल १४ मा अमेरिकामा लेबनान र इजरायलबीच पनि युद्धविरामबारे छुट्टै वार्ता सुरु हुने तय भएको छ। आइतबारको विश्रामपछि इरान र अमेरिकाबीचको वार्ताको अर्को चरण पुनः सुरु हुनेछ।














प्रतिक्रिया दिनुहोस्