आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने
काठमाडौं, २४ चैत । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ।
मंगलबार बिहान देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ।
मंगलबार दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
पछिल्लो मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आग्रह गरेको छ।
मौसम तथा विपदविद् धर्मराज उप्रेतीले देशको मौसम प्रणालीमा पश्चिमी वायु सक्रिय रहेको बताएका छन्। उनले केही दिन बालीनाली नथन्क्याउन समेत आग्रह गरेका छन्।
‘केही दिनदेखि दिउँसो र साझ आउने असिनापानी भोलि चैत २५ गते भने बिहानैदेखि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यम वर्षा अर्थात् जमिन भिज्नेगरी हुने सम्भावना बलियो देखिन्छ,’ उनले भनेका छन्, ‘भोलि दिनभरि नै पश्चिमी भागमा वर्षाको आउजाउ हुने सम्भावना छ।’
केही ठाउँमा आज दिउँसो पनि हावाहुरीको सम्भावना रहेको उनले बताएका छन्।
मौसमविद् विनोद पोखरेलले मंगलबार पहाडी र हिमाली भेगमा पानी पर्ने सम्भावना देखाएका छन्।
उनले पनि बुधबार नेपालमा राम्रै वर्षा हुने आकलन गरेका छन्।
‘बुधबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना छ। यो हप्ता पूरै मौसम शीतल हुने छ। हिमाली भेगमा औसतभन्दा धेरै कम तापक्रम रहने र भारी हिमपातको सम्भावना छ,’ उनले भनेका छन्। यसले नागरिकको दकाममा प्रभाव पर्दैछ ।














प्रतिक्रिया दिनुहोस्