नेपालको कानुनी प्रणालीमा नयाँ आयाम थप्ने महत्वपूर्ण कृति सार्वजनिक

काठमाडौं, १९ चैत। नेपालको कानुनी शिक्षा, अभ्यास र नीतिनिर्माणलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित डा. रेवतीराज त्रिपाठी र प्रभात क्षेत्रीको सहकार्यमा तयार गरिएको महत्वपूर्ण कृति “नेपालको कानुनी प्रणाली” प्रकाशित भएको छ ।

२०७२ सालको संविधानले स्थापित गरेका संरचनागत सुधारहरूलाई प्रक्रियागत गहिराइ र व्यावहारिक फौजदारी कानुन विश्लेषणसँग संयोजन गर्दै यस पुस्तकले विधिशास्त्रको अध्ययन र अभ्यासमा सशक्त मार्गदर्शन प्रदान गरेको छ । विशेषतः प्रभात क्षेत्रीको समसामयिक सरकारी अनुभव र अन्तर्राष्ट्रिय अध्ययनले कृतिलाई थप विश्वसनीय र प्रभावकारी बनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट फौजदारी कानुनमा पीएचडी हासिल गरेका डा. त्रिपाठी पूर्व संयुक्त सरकारी वकिल तथा अनुभवी फौजदारी कानुनविद् हुन् । उनका पूर्व प्रकाशित पाठ्यपुस्तकहरू र अनुसन्धानमूलक लेखहरूले नेपाली विधिशास्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यस्तै, महान्यायाधिवक्ता कार्यालयमा उपसचिव पदमा कार्यरत प्रभात क्षेत्री एलएलएम र बीएएलएलबी उपाधिधारी एक सक्रिय कानुनविद् हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उनको अध्ययन, लेखन र अनुभवले यस कृतिमा समसामयिक तथा व्यवहारिक दृष्टिकोण समेटिएको छ ।

पुस्तकको मुख्य विशेषता नेपालको बहुलवादी कानुनी इतिहासको सशक्त प्रस्तुति हो, जसमा प्राचीन हिन्दु धर्मशास्त्र, आदिवासी प्रथागत कानुनदेखि आधुनिक संघीय, धर्मनिरपेक्ष व्यवस्थासहितको संविधानसम्मको विकासक्रम समेटिएको छ । साथै, सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय तथा विशेष अदालतहरूको भूमिका, न्यायिक स्वतन्त्रता, न्यायिक सक्रियता र भ्रष्टाचारविरुद्धका पहलहरूको विश्लेषणमार्फत कानुनी संरचनाको गहिरो अध्ययन प्रस्तुत गरिएको छ ।

काठमाडौंस्थित पैरवी बुक हाउस प्रालि.बाट प्रकाशित यो कृति वर्तमान राजनीतिक संक्रमण र सुशासनको चुनौतीबीच समयसापेक्ष रूपमा आएको छ। प्रमाणको स्वीकार्यता, वैकल्पिक विवाद समाधान जस्ता जटिल विषयलाई सरल र गहन रूपमा व्याख्या गर्दै यो पुस्तक विद्यार्थी, कानुन व्यवसायी तथा नीति(निर्माताहरूका लागि उपयोगी मार्गदर्शक बन्ने विश्वास गरिएको छ । विशेषतः कानुन अध्ययनरत विद्यार्थी र अभ्यासकर्ताहरूका लागि यो कृति दीर्घकालीन सन्दर्भ सामग्रीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्