संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, १८ चैत । संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।

यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । एक जना स्वतन्त्र ९महावीर पुन० निर्वाचित सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । ३८ सिटसहित कांग्रेस दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो दल बनेको छ ।

पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिट ल्याएर संसद्को पाँचौं दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्