देशभरका प्रहरीलाई बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी

काठमाडौं, १६ चैत । नेकपा एमालेले गर्ने प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले देशभरका प्रहरीलाई बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी लगाएको छ । सशस्त्र प्रहरीको गस्ती पनि शुरू हुने भएको छ ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा एमालेले शनिबार बिहानैदेखि प्रदर्शन गरेको थियो । सरकारले जेन्जी आन्दोलन जाँचबुझआयोगको प्रतिवेदन कार्यान्वयनका लागि शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

एमालेद्वारा पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने भएको छ । त्यसक्रममा निषेधित क्षेत्रको सुरक्षा, विभिन्न भवन र व्यक्तिहरुको सुरक्षालाई ध्यान दिन केन्द्रीय प्रहरीले देशभरका युनिटलाई गए राति आदेश दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सुरक्षा व्यवस्थापन प्रहरीको नियमित कार्य भएका कारण त्यसका लागि अलग्गै आदेशको आवश्यकता नहुने बताए । यद्यपि, परिस्थितिको गाम्भीर्यतालाई हेरेर सम्बन्धित कमाण्डरको आदेश बमोजिम आवश्यक रुपमा परिचालित हुने भनिएको उनले बताए ।

देशभर कतै पनि प्रहरी कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नछाड्न र सबै गण, गुल्म एवम् तालिम केन्द्रको जनशक्ति पनि परिचालित हुन भनिएको उनले बताए ।

काठमाडौँको हकमा निषेधित क्षेत्र र महत्त्वपूर्ण स्थानमा प्रहरीले थप मद्दत टोली सहित बिहान ८ बजेबाट ड्युटी लिने भएको छ । प्रहरीस्रोतका अनुसार भिड नियन्त्रणका लागि आवश्यक पर्ने सबै बन्दोबस्ती तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्