विरोध प्रदर्शनमा सात जना प्रदर्शनकारी पक्राउ

काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज शनिबार काठमाडौँमा एमाले कार्यकर्ताहरूले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले जानकारी दिए ।

आज प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको टाउकोमा चोट लागेको भए पनि उनलाई उपचारपछि डिस्चार्ज गरिएको एसपी भट्टराईले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।

आक्रोशित कार्यकर्ताले गाडीमाथि तोडफोडसमेत गरेका छन् । अहिले प्रहरीले प्रदर्शनकारीबिचको झडपले बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्